आज : Monday, November 02, 2026 | २०८३ कार्तिक १७ सोमबार

सिराहाका जनप्रतिनिधिले फिर्ता गरे कोभिड-१९ जोखिम भत्ता

जोखिम भत्ता नलिन कांग्रेसको निर्देशन 

लहान । सिराहा नगरपालिकाले कोभिड-१९ नियन्त्रण, रोकथाममा खटिएको बताउँदै वितरण गरेको जोखिम भत्ता कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले फिर्ता गर्न थालेका छन् ।

कांग्रेस नगर समितिले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई भत्ता फिर्ता गर्न निर्देशन दिएको थियो । बुधबार पत्रकार सम्मेलनमार्फत भत्ता फिर्ता गरिएको जानकारी उक्त पार्टीबाट निर्वाचित जनप्रतिनिधिले दिएका हुन् । फिर्ता गर्नेमा सिरहा-२० का वडाध्यक्ष रामचन्द्र यादव, २१ का वडाध्यक्ष सुरेन्द्र मण्डल, २२ का वडाध्यक्ष आशाराम यादव, कार्यपालिका सदस्य उदयशंकर राउत र इन्दिरा कर्ण छन् । उनीहरूले जनही ८२ हजार एक सय ७० रुपैयाँ फिर्ता गरेका हुन् । यस्तै, अन्य आठजना जनप्रतिनिधिलाई पनि भत्ता फिर्ता गर्न कांग्रेसले निर्देशन दिएको छ ।

नगरपालिकाले झुक्याएर जोखिम भत्ता दिएको पाइएकाले फिर्ता गर्ने निर्णय गरिएको कांग्रेस नगर सभापति अध्यक्ष अशिषलाल यादवले बताए । जनताको सेवा गर्न निर्वाचित भएकाले जनप्रतिनिधिले त्यस्ता भत्ता बुझ्न नहुने कांग्रेसबाट नगर प्रमुखको प्रत्यासी बनेका डा. सुभाष यादवले पत्रकार सम्मेलनमा बताए । ‘कोभिड-१९ नियन्त्रण, रोकथामका नाममा भत्ता बुझ्दा जनप्रतिनिधिको नैतिकतामाथि प्रश्न उठ्छ । त्यसैले फिर्ता गर्न निर्देशन दिएका हौँ,’ उनले भने, ‘कांग्रेस केन्द्रीय समितिले देशभरका जनप्रतिनिधिलाई भत्ता नलिन निर्देशन जारी गर्नुपर्छ ।’

कसलाई कति भत्ता ?

सिराहा नगरपालिकाले कार्यपालिका सदस्य र वडाध्यक्षलाई ८२ हजार एक सय ७०, उपप्रमुखलाई ९८ हजार ६ सय चार, प्रमुखलाई एक लाख ३१ हजार चार सय ७२ रुपैयाँ जोखिम भत्ता वितरण गरेको पाइएको छ । त्यसका लागि २७ लाख २२ हजार चार सय रुपैयाँ निकासा भएको नगरपालिकाले जनाएको छ । कार्यपालिका सदस्य, वडाध्यक्ष, प्रमुख र उपप्रमुख गरी ३२ जनालाई ८३ दिनको भत्ता वितरण भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए ।

उनका अनुसार नगर प्रमुखलाई एक हजार ६ सय, उपप्रमुखलाई एक हजार दुई सय तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यलाई एक हजारका दरले दैनिक भत्ता दिइएको हो । ‘जोखिम भत्ता बुझेर किन फिर्ता गर्नुभयो, थाहा भएन । उहाँहरूकै निर्णयअनुसार वितरण भएको हो,’ यादवले भने ।
 

प्रतिकृया दिनुहोस