आज : Monday, November 02, 2026 | २०८३ कार्तिक १७ सोमबार

वानवे हटाएर दुईतर्फी सडक सञ्चालनको माग गर्दै धरानका व्यापारी आन्दोलनमा

 

धरान, साउन १३ गते । धरान उपमहानगरपालिका–२ को भानुचोक–देशीलाइन क्षेत्रमा लागू गरिएको वानवे (एकतर्फी) सडक व्यवस्था हटाई सबै प्रकारका सवारीसाधनलाई दुईतर्फी सञ्चालन गर्न माग गर्दै स्थानीय व्यापारीहरूले आन्दोलन गरेका छन ।
बुधबार देशीलाइनका व्यापारीहरूले माछाभौडी देखि भानुचोक आउने सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन । उपमहानगरपालिकाले बुधबारदेखि मोटरसाइकल र स्कुटीलाई भने दुईतर्फी सञ्चालन गर्न दिने निर्णय गरे पनि व्यापारीहरूले सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी सडक खुला गर्नुपर्ने माग गरेका छन ।
स्थानीय व्यापारी भूपाल राईले वानवे व्यवस्थाका कारण लामो समयदेखि व्यापार प्रभावित भएको र बसपार्क स्थानान्तरण भएपछि अवस्था झन् जटिल बनेको बताउनुभयो । व्यापार धराशायी बन्दै गएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उहाँले बताउनुभयो । तत्कालीन नगर प्रमुख हर्कराज राई (साम्पाङ) र कार्यवाहक नगर प्रमुख आईन्द्र विक्रम बेघाले समेत व्यापारीहरूको मागप्रति उचित सुनुवाइ नगरेको आरोप लगाउँदै अब माग सम्बोधन नभएसम्म सडक अवरुद्ध गरी आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।
धरान–२ का वडाध्यक्ष रमेश राईले बुधबारदेखि भानुचोक क्षेत्रमा मोटरसाइकल र स्कुटीलाई दुईतर्फी सञ्चालन गर्न दिइएको जानकारी दिनुभयो । व्यापारीहरूको समस्यालाई पनि गम्भीर रूपमा लिई आवश्यक व्यवस्थापनका लागि उनीहरूसँग छलफल गर्दै समाधानतर्फ अघि बढ्ने उहाँले बताउनुभयो ।
सडक अवरुद्ध भएपश्चात सर्वसाधरणहरुलाई आवत जावत गर्न समस्या भएको ईलाका प्रहरी कार्यालय धरानको प्रहरी निरिक्षक बिनालाल साहले बताउनुभयो ।  हाललाई पुरानो बजार सिद्रा लाईनबाट शान्ति पथ लगायत अन्य सडकहरुबाट सर्वसाधरणहरु आवत जावत गर्न बाध्य भएका छन । हाल उपमहानगरपालिकाले व्यापारिहरुसंग छलफल गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस