आज : Monday, November 02, 2026 | २०८३ कार्तिक १७ सोमबार

हेलिकप्टरबाट पाथिभरा र हलेशी दर्शन गराउँदै धरान होलिडेज

धरान । धरान होलिडेजले रामनवमीको अवसर पारेर ताप्लेजुङको पाथिभरा र खोटाङको हलेशी दर्शन गराउने सेवा सुरु गर्ने भएको छ । 

बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै यहि वैशाख ५ गतेदेखि सेवा सुरु गर्ने जानकारी दिएको हो । रामनवमीको बेला ताप्लेजुङको पाथीभरा र खोटाङको हलेशी मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । धरान होलिडेजले एयर डायनेस्टीसँग मिलेर धरानबाट दर्शनार्थी यात्रुलाई हेलिकप्टरबाट पाथीभरा दर्शन गराउने भएको हो । प्रतिव्यक्ति ३० हजार रुपैयाँ लिएर धरान होलिडेजले धरानबाट पाथीभरा र हलेशी मन्दिर पुर्याएर धरानसम्म ल्याउने व्यवस्था गरी हेलि प्याकेजको घोषणा गरेको छ । पाथीभरा मन्दिर पुर्याएर धरान आइपुग्न करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ भने दैनिक ३ देखि ५ फ्लाइटसम्म गरिने आयोजकले जनाइएको छ ।
यस्तै, संखुवासभाको गुफापोखरीको पनि सेवा सुरु गर्ने भएको छ । पाथीभरा दर्शन गर्न सहकारी मार्फत मासिक २५ सय रुपैयाँको किस्ताबन्दीको समेत व्यवस्था गरिएको धरान होलिडेजका सञ्चालक कुन्दन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अशक्त र जेष्ठ नागरिकलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै गरी पहाडी दुर्गम क्षेत्रबाट बिरामी बोक्न एयर एम्बुलेन्सको सेवा समेत दिइने जनाइएको छ । फोटो : सनम तामाङ

प्रतिकृया दिनुहोस