धरानमा दुई गाडीसहित २ सय १० केजि गाँजा बरामद, पाँच जना पक्राउ

धरान, कात्तिक १६ गते । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुईवटा स्कार्पियो गाडीसहित आठ पोका गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक १६ गते बिहान करिब ३ बजे दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी हवल्दार हेमराज सुवेदीको नेतृत्वमा खटिएको टोलीले बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका स्कार्पियोमा आठ पोका गाँजा लोड भइरहेको अवस्थामा फेला पारेको जनाएको छ। प्रहरीका अनुसार गाँजा बोकेर भाग्न खोजेपछि टोलीले सानो पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको थियो।
घटनामा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये यादव र शाह दुवै स्कार्पियोका चालक हुन्। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको छ।







प्रतिकृया दिनुहोस