सुनसरी–१ मा २४ उम्मेदवारको जमानत जफत
धरान, फागुन २५ गते । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा २४ जना उम्मेदवारको जमानत जफत भएको छ ।
सुनसरी–१ मा कुल २६ जना उम्मेद्वार रहेको मध्ये विजयी हुनुभएको श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) र राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) बाहेक सबैको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कुल खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेद्वारहरुको जमानत जफत हुने कानुनी प्रावधान रहेको छ । सुनसरी १ मा कुल ८७ हजार ४ सय ७१ मत खसेको थियो । उम्मेद्वारहरुले धरौटी रकम(जमानत) फिर्ता गराउनको लागि १० प्रतिशत अर्थात कम्तीमा ८ हजार ७ सय ४७ मत ल्याउनुपर्ने जनाएको छ ।
सुनसरी–१ मा विभिन्न राजनीतिक दलबाट १९ जना र ७ जना स्वतन्त्र गरि २६ जना उम्मेद्वार रहेकोमा एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारले समेत जमानत जोगाउन नसकेको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिनुभयो । निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत, नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत, नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको थियो । जसमा सबैभन्दा कम मत स्वतन्त्र उम्मेद्वार ओमकृष्ण उदास(चुनाव चिह्न कैची)ले ९ प्राप्त भएको छ भने स्वतन्त्र चेतबहादुर राई(चुनाव चिह्न कप) को १४, मितेरी पार्टी नेपालका रक्षकुमार राईको १७, स्वतन्त्र शेषप्रसाद रेग्मी (सिरिञ्ज)को १७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर लिम्बूको २७ मत रहेको छ । यस्तै, स्वतन्त्र उम्मेद्वार जीवनकला राईको ३७, मंगोल नेशनल अर्गनाइजेशनका राजेन्द्र गुरुङको ४६, आम जनता पार्टीका रामबहादुर बिष्टको ५२, जनता समाजवादी पार्टी नेपालका संजय राईको ५३, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठको ६३, स्वतन्त्र सुमित राईको ६९, स्वतन्त्र देउमान लिम्बूको ७४, नेपाली जनश्रमदान पार्टीका राजकुमार राईको ८३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बूको ८३ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का दिलबहादुर बास्तोलाको ९४ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





.jpeg)

प्रतिकृया दिनुहोस