आज : Monday, November 02, 2026 | २०८३ कार्तिक १७ सोमबार

सुनसरी–१ मा हर्क साम्पाङ विजयी

 

धरान, फागुन २४ गते । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
राई ८ हजार ४ सय  ९२ बढि मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बुले ६  हजार ४ सय ६३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९  सय ७०  मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी-१ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन् । कुल  मतमध्ये ४७ हजार ९ सय ८ महिला र ४० हजार ४ सय ६४ पुरुष मतदाताले मतदान गरेका छन् ।
सुनसरि १ को कुल मत मध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो । जसमा  ४ हजार ३ ८९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

 
सामाजिक अभियन्ताका रूपमा पहिचान बनाएका राई अहिले संघीय संसदसम्म पुग्नुभएको छ । स्थानीय मुद्दा उठाउँदै आउनुभएको उहाँले निरन्तर संघर्ष र जनसमर्थनको आधारमा धरानको स्थानीय राजनीतिदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्नुभएको हो । लाहुरे परिवारमा जन्मिनुभएको राईले खोटाङको कोपिलासगढी गाउँपालिका–खार्ताम्छामा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । प्रवेशिका उत्तीर्ण गरेपछि उहाँ २०५६ सालतिर धरान झर्नुभएको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ ।
२०७२ सालमा धरान-१० स्थित धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तार गर्ने क्रममा स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था आएपछि राईले पीडितहरूसँग मिलेर आन्दोलन गर्नुभएको थियो । त्यही आन्दोलनबाट उहाँ सामाजिक अभियन्ताका रूपमा चिनिन थाल्नुभएको हो ।
गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो । त्यससँगै धरानले पहिलो पटक स्वतन्त्र नगर प्रमुख पाएको थियो । नगरप्रमुख बनेपछि उहाँले श्रमदानको पुनः विकास गर्नुभई विभिन्न अभियानहरु श्रमदान मार्फत सुरु गर्नुभएको थियो । उहाको पहलमा धरान-२० स्थित कोकाहा खोलाबाट पानी ल्याउने अभियानअन्तर्गत ९८ दिनमा   श्रमदानमार्फत धरानमा पानी ल्याउन सफल भएको थियो ।
यस अभियानले राईलाई थप व्यापक जनसमर्थन दिलाएको थियो । यही लोकप्रियताको आधारमा उहाँले `श्रमसंस्कृति पार्टी´स्थापना गर्नुभयो र औपचारिक रूपमा दलगत राजनीतिमा प्रवेश गर्नुभयो ।

स्थानीय विकास, खानेपानी, सरसफाइ र सडक सुधारका मुद्दामा सक्रिय रहँदै उहाँले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुभएको थियो ।निर्वाचनमा उहाँले निकटतम प्रतिस्पर्धी गोमा तामाङलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
राईको यस राजनीतिक यात्रा सामाजिक अभियान, सडक आन्दोलन, स्वतन्त्र नगर प्रमुख हुँदै संघीय संसदसम्म पुगेको छ ।

प्रतिकृया दिनुहोस