आज : Monday, November 02, 2026 | २०८३ कार्तिक १७ सोमबार

धरानका वरिष्ठ रङ्गकर्मी तथा नाटककार गोपाल देवान राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० बाट सम्मानित

पार्टी सिफारिश अनि चाकरी विना मोफसलका स्रष्टालाई सम्मान गरिनु सङ्घीयताको आभास

पवित्रा मगर/लेटाङ

धरानका वरिष्ठ रङ्गकर्मी तथा नाटककार गोपाल देवान विगत ३ दशकदेखि मोफसलमा रहेर नेपाली नाट्य क्षेत्रमा उच्च योगदान पुर्याए बापत नेपाल संगीत तथा नाट्य एकेडमीद्वारा प्रदान गरिने राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत हुनु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा असार १२ गते सम्पन्न एक समारोहमा वरिष्ठ नाटककार देवानसहित नृत्य, नाटक, संगीतलगायत विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई राष्ट्रिय पुरस्कारले सम्मानित गरिएको हो ।

सम्मानित वरिष्ठ रङ्गकर्मी तथा नाटककार देवानले विजयपुर एफएमसँग कुरा गर्दै पार्टीको सिफरिश र कोटामा पुरस्कार र सम्मान बाडिने पछिल्ला गलत अभ्यासलाई तोड्दै सङ्गीत तथा नाट्य एकेडमीले आफूलाई सम्मान गरेको घटनालाई देशमा थोरै भए पनि सङ्घीयताको आभास दिलाएको धारणा राख्नु भयो ।

“हिजोसम्म केन्द्रीकृत तरिकाले र पार्टी सिफरिशमा मात्र सम्मान र पुरस्कार दिने गरिएकोमा अचानक देशभरिबाटै विशिष्ट योगदान पुर्याएको भनी सम्मानित हुनेमा मेरो नाम आउँदा प्रतिफलको आसा नगरी देश र जनताको हितमा नाट्य क्षेत्रमा निरन्तर लागिरहदा मूल्याङ्कन हुने रहेछ भन्ने विश्वास मलाई भएको छ ।” देवानले भन्नुभयो ।

सम्मानित सबैलाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले दोसल्ला ओढाउनुका साथै ताम्रपत्र प्रदान गर्नु भएको थियो । सम्मानित स्रष्टाहरूलाई एक लाख एक रुपैयाँको चेक पनि पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।

देवानसँगै राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित हुनुहुने स्रष्टा तथा कलाकारहरुमा रंगमञ्चतर्फ वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, शास्त्रिय संगीततर्फ चन्दन कुमार श्रेष्ठ, लोकसंगीत तर्फ बोमबहादुर कार्की, गायन तर्फ वरिष्ठ गायिका तारा थापा, नृत्य तर्फ जोगेन्द्र केसी रहनु भएको थियो ।

प्रमुख अतिथि सम्माननिय राष्ट्रपति पौडेलले नेपालको सांस्कृतिक धरोहरलाई विश्वभरि चिनाउन स्रष्टाहरुको भुमिका अविस्मरणीय रहेको बताउँदै कला, साहित्य, संगीतको माध्यमबाट चेतनशील समाज निर्माण गर्ने कार्य गर्ने स्रष्टाहरूलाई सम्मान गर्न पाउँदा आफूलाई गौरवन्तित अनुभूति भएको धारणा राख्नुभयो ।

समारोहका विशेष अतिथि तथा संगीत तथा नाट्य एकेडेमीका संरक्षक संस्कृति मन्त्री हितमान तामाङले कला संगीत र संस्कृति देशको पहिचान भएकोले राज्यले संरक्षण गर्ने नीति लिएको बताउनु भयो ।

एकेडेमीका कुलपति निशा शर्मा पोखरेलले संघीय गणतन्त्रको उदयपछि स्थापित संगीत तथा नाट्य एकेडेमीले देशका स्रष्टाहरूलाई समुचित सम्मान तथा पुरस्कृत गर्ने परम्पराको थालनी गरेको बताउँदै हालसम्म ५४ जना स्रष्टाहरूलाई राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मान गरिसकेको जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस