आज : Monday, November 02, 2026 | २०८३ कार्तिक १७ सोमबार

मंगलबारदेखि प्रथम ऐतिहासिक प्रादेशिक ललितिकला प्रदर्शनी शुरु

प्रदर्शनीमा कोशी प्रदेशका सबै जिल्लाबाट १२५ कलाकारहरुका १५० बढी विविध कलाकृतिहरु समावेश

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहकार्यमा कोशी प्रदेशमा प्रथम पटक आयोजित प्रादेशिक ललित कला प्रदर्शनी २०८० मंगलबारदेखि इटहरी मेट्रिक्सको परिसरमा शुरू भएको छ । 

प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश सभामुख माननीय अमरबहादुर विष्टले कला साहित्यले राष्ट्र चिनाउने हुँदा यसको संरक्षण तथा सम्बद्र्धन गर्न राज्य लाग्नुपर्ने बताउनु भयो । उहाँले मेट्रिक्स हल र परिसरमा डिस्प्ले गरिएका चित्रकला, मूर्तिकलालगायत विभिन्न सिर्जनात्मक कलाकृतिहरूको अवलोकन गर्नु भएको थियो ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कार्यक्रमलाई सम्बोधन गदै प्रादेशिक ललितकला जस्तो ऐतिहासिक कार्यक्रम इटहरीमा आयोजना हुनु अहोभाग्यको विषय भएको बताउँदै कलाले मानिस र मनलाई आत्मिक सुख र खुशी दिने बताउनु भयो । 

क्ला मानव समाजको इतिहास र संस्कृतिको अंगसमेत भएको चर्चा गर्दै उहाँले इटहरी उपमहानगरपालिकाले कला साहित्यलाई संरक्षण गर्न प्रतिष्ठान गठनको कामलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छलीले देशमा आएको संघीयतालाई अनुभूत गराउन कलाक्षेत्रमा प्रादेशिक प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार सात वटै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी भइरहेका छन् । 

प्रादेशिक ललितकला प्रदर्शनी प्रदेश प्रदेशमा भएका कलाकारहरुको खोजी गरी उहाँहरुलाई राष्ट्रियकरण गर्ने अभियान हो, उहाँको भनाइ थियो । उहाँले कोशी प्रदेशमा ललितकलाको प्रादेशिक संरचना स्थापना गर्ने पहलसमेत भइरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ कला–संस्कृतिकर्मी रामकुमार सुब्बालगायत अग्रज कलाकर्मीहरु जीवनाथ पोख्रेल, निवास पोख्रेल, रेणुका तिम्सिना, उषा अर्याल, श्रीकृष्ण जोशी, दलबहादुर तामाङ र श्रीप्रसाद किरातलाई सम्मान तथा अभिनन्द नगरिएको थियो । साथै, कार्यक्रममा थारु लोककला झुमरा नाच तथा पर्फर्मिङ आर्ट पनि प्रस्तुत गरिएको थियो । 

प्रदर्शनी ९ गतेसम्म चल्ने र करिब ५० हजार दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीका सहसंयोजक तथा स्थानिय व्यवस्थापक संस्था इटहरी मेट्रिक्सका अध्यक्ष विक्रममश्रीले जानकारी दिनु भयो । 

प्रदर्शनीका संयोजक नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सञ्जय बान्तवा राईले दिनुभएको जानकारी अनुसार प्रदर्शनीमा प्रायशः कोशी प्रदेशका सबै जिल्लाका १२५ कलाकारहरुको १५० भन्दा बढी विभिन्न विधाका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन् ।

प्रतिकृया दिनुहोस