आज : Tuesday, November 03, 2026 | २०८३ कार्तिक १८ मंगलबार

पहिचान आन्दोलनमा भएका मानवअधिकार हननसम्बन्धी तथ्य संकलन

पहिचान आन्दोलनको क्रममा राज्यपक्षबाट भएका ज्यादती र दमनका साथै मानवअधिकार हननका विषयलाई लिएर आज आइतबार धरानमा अनुगमन तथा तथ्य संकलन कार्य सम्पन्न भएको छ ।

नेपालका आदिवासीहरुको मानवअधिकारसम्बन्धी वकिल समूह, लाहुर्निप काठमाण्डौको आयोजनामा स्थानीय होटल पूर्वीमा सम्पन्न अनौपचारिक कार्यक्रममा लाहुर्निपको तर्फबाट काठमाण्डौंबाट नेपाल मानवअधिकार आयोग (एनएचआरसी)का पूर्व सदस्य तथा ख्यातिप्राप्त अधिकारकर्मी मोहना अन्सारीले तथ्य संकलन कार्यलाई सम्पादन गर्नुभएको थियो ।

अधिकारकर्मी अन्सारीले पहिचान आन्दोलनमा भएका मानवअधिकार हननका घटनाहरुलाई स्वतन्त्र रुपबाटअनुगमन गर्नु आवश्यक देखिएको हुँदा लाहुर्निपले तथ्य संकलन कार्यलाई अगाडि बढाएको जानकारी दिनु भयो । यस्तो कार्यले राज्यपक्षबाट प्रस्तुत गरिएका गलत प्रचारलाई काउण्टर गर्ने उहाँको भनाइ थियो । उहाँको साथमा अधिवक्ता सुनिल पटेलको उपस्थिति रहेको थियो ।

लाहुर्निपका सुनसरी आदिवासी मानवअधिकार प्रतिरक्षक विना तामाङका अनुसार कार्यक्रममा पहिचान आन्दोलनमा घाइते भएका तथा आन्दोलनको क्रममा राज्यपक्षबाट झुटा मुद्धामा फसाइएका २० भन्दा बढीआदिवासी समुदायका पीडितहरुसँग प्रत्यक्ष कुराकानी गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ, मोरङका अध्यक्ष दिलबहादुर थेबेले उक्त अनुगमन तथा तथ्य संकलन कार्य मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न ठाउँहरुमा बुधबारसम्म गरिने जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका विभिन्न घटकहरु र पहिचानवादी राजनीतिक पार्टीसम्बद्ध नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस