प्रदेशस्तरीय रङगमञ्चीय विकासमा प्रदेश सरकारको भूमिका

गोपाल देवान
अध्यक्ष : आरम्भ नाट्य डबली, धरान
(नाटककार, निर्देशक, रङगकर्मी)
रुसमा थियटरसम्बन्धी कानूनी स्थितिअनुसार रूसी थिएटर दुई श्रेणीमा विभाजित गरिएको छ : राज्य तथा नगरपालिका थिएटर, र निजी थिएटर । थियटरहरुको अधिकारअनुसार सङ्घीय थिएटर, स्थानीय थिएटर, संस्कृति मन्त्रालयको थिएटर र अन्य एजेन्सीहरुको थिएटर भनेर थियटर वर्गीकृत गरिएको छ । समृद्ध नाट्य परम्परा र नाट्यसम्बन्धी विभिन्न वादहरुको जन्मस्थलको रुपमा रहेको रुसमा त्यहाँको सरकारले थियटरलाई चेतना संवाहकका साथै थियटरलाई आयस्रोतको रुपमा समेत विकसित गरेको छ । नेपालमा समृद्ध थियटर अर्थात् रङ्गमञ्चीय संस्कृतिको विकास अद्यापि भएको छैन । राणाकालमा राजामहाराजाहरुको मनोरञ्जनका लागि भारतीय नाटकहरु प्रस्तुत गरेर शुरु भएको नेपालको थियटरसँगै काठमाण्डौंको नेवारी संस्कृतिअन्तर्गतको जनथियटर डबलीले उसताका केही लोक नाटकहरु प्रस्तुत गरे तापनि कानुनी, सांगठानिक र दूरदृष्टिसहितको योजनागत थियटरको विकास अद्यापि नेपालमा भएको पाइन्न ।
बालकृष्ण सम, गोपालप्रसाद रिमाल, विजयमल्ल, गोविन्दबहादुर मल्ल गोठाले, रमेश विकलजस्ता हस्ती नाटककारहरु शुरुवाती दौरमा देखिएपनि थियटरको भने कतै नामोनिशान देखिएन । पञ्चायतकालमा राजधानीमा राष्ट्रिय नाचघर, प्रज्ञा प्रतिष्ठानअन्तर्गत नाट्य विभाग स्थापित गरिए पनि ती निकायहरुले चाटुकारिताबाहेक केही गरेनन् । २०४७ पछि प्रजातन्त्र र २०६२, ०६३ पछि अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाभएर सङ्गीत तथा नाट्य एकेडेमीसमेत स्थापना भइसक्दा पनि थियटरमा कुनै परिवर्तन, स्मरणीय काम वा कानुनी व्यवस्था भएको देखिन्न । त्यसैले, थियटरको विकासको कुरा अहिले पनि आकाशको फल नै बनेर रहेको छ ।
यस्तो अवस्थामा देशको नयाँ व्यवस्थाअनुसार सरकारका तीन तहहरु संघ (केन्द्र), प्रदेश र स्थानीय सरकारहरु रहेका छन् । संघ वा केन्द्रले थियटरको क्षेत्रमा सुस्ती देखाउँदै कुनै योजनागत कार्यहरु सम्पादन नगरिरहेको अवस्थामा प्रदेश सरकारहरुले चाहेमा प्रत्यायोजित अधिकारअन्तर्गत रहेर थियटर संस्कृतिको विकास गर्न आवश्यक पहल गर्न सक्छन् । त्यसमा पनि पहिलेदेखि नाट्य क्षेत्रमा अग्रणी स्थानमा रहदै आएको प्रदेश १ ले यस क्षेत्रमा रुसमा जस्तै कानुनी व्यवस्था तथा दूरदृष्टिसहितको योजनागत कार्यहरु अगाडि बढाउन सकेमा सबैका लागि दृष्टान्तीय हुने देखिन्छ ।
यो दृष्टान्तीय कार्य गर्नुअगाडि थियटरप्रतिको दृष्टिकोणमा प्रदेश सरकारले आमूल परिवर्तन ल्याउनु जरुरी हुन्छ । थियटरलाई प्रदेश सरकारले भौतिक संरचनाको रुपमामात्रै नबुझेर संस्कृति निर्माण र युगचेतनाको संवाहकको रुपमा बुझ्नु पर्दछ । थियटरलाई मनोरञ्जनको माध्यममात्र नठानेर थियटर भनेको देश, समाज, मानव सभ्यता, सौन्दर्यशास्त्र, युगचेतना, परिवर्तन, सकारात्मक दिशाबोधको कलात्मक माध्यम हो भन्ने कुरालाई आत्मसात गर्नु आवश्यक छ । थियटरको यही आत्मिकपक्षलाई आत्मसात गर्न सकेमा प्रदेश १ मा थियटरको रचनात्मक विकास गर्न सकिन्छ ।
यहाँ प्रदेशस्तरीय रङ्गमञ्चको विकासमा विषयप्रवेश गर्नुअघि रङ्गमञ्चबारे स्पष्ट हुन जरुरी छ । मूलतः रंगशब्दले पूर्वीय चिन्तनमा आमोद, प्रमोद्, खुशी, गीत, सङ्गीत र नृत्यलाई जनाउँदछ भने मञ्च शब्दले ती रङहरु देखाइने उच्चस्थान । दुबै शब्दको मिलनबाट जब रङ्गमञ्च शब्द बन्दछ, त्यसले फराकिलो क्षेत्रलाई समेट्न पुग्दछ । हुन त पूर्वीय सिद्धान्तमा रङ्गमञ्च शब्दले अस्तित्व राख्दैन, अंग्रेजी साहित्यमा थियटर शब्दको अनुवादको रुपमा रङ्गमञ्च शब्द आएको हो । सीधा किसिमले रंगमञ्च÷थियटरलाई नाटक देखाउने स्थलमात्र बुझ्ने बुझाउने गरिए पनि नाटकको प्रस्तुत्य पक्षलाई अभिवहन गर्दै रङ्गमञ्च÷थियटरले नाटकको एक अङ्गको रुपमा आफूलाई उभ्याउँदछ । यसरी, नाटकको अङ्ग बन्ने क्रममा रङ्गमञ्च÷थियटरले एउटा वृहद् परिवारको रचना गर्दछ, जसमा लेखक, निर्देशक, कलाकार, नाटकघर वा रङ्गभूमि, प्रकाश व्यवस्थापक, गीत, सङ्गीत, गायकगायिकाजस्ता पक्षहरु, वाद्यवादक नाट्य सामग्रीका उत्पादक र व्यवस्थापकहरु, श्रृङ्गारकर्ता, मञ्च परिकलपनाकारलगायत नाटक प्रदर्शनका क्रममा योगदान दिने सबैलाई आफ्नो परिवारमा समेट्दछ ।
यो त रङ्गमञ्च÷थियटरको भौतिक पक्ष हो । जब नाटकले समाजलाई नयाँ दिशा दिने र परिवर्तनको आव्हान गर्ने आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, यही रङ्गमञ्च समाज, राष्ट र अन्तर्राष्ट्रका लागि युगबोध र युगचेतनाको संवाहक बन्न पुग्दछ । र, यो रङ्गमञ्च÷थियटरको सुन्दर आत्मिक पक्ष हो । रङ्गमञ्च÷थियटरको आत्मिक पक्षको रुपमा यसले संस्कृति–निर्माणको अहम् भूमिका पनि वहन गर्दै आएको छ । संसारका प्रत्येक देशको आ–आफ्नै रङ्गमञ्च र त्यसका स्वरुपहरु हुन्छन्, जसले मानव समाजमा नयाँ संस्कृतिहरु निर्माण गर्दै अग्रगति प्रदान गर्ने काम गर्दै आएको छ । भौतिक वस्तुहरु पुल, सडक, भवन, नहरकुलो जस्तो रङ्गमञ्च÷थियटरको आत्मिक पक्ष प्रत्यक्ष दृष्टिगोचर नहुने भए पनि त्यसले समाजलाई आफ्नो कर्मबाट क्रमशः मात्रात्मक परिवर्तनको योगमार्फत् गुणात्मक फ्ड्कोका रुपमा गहिरो प्रभाव पार्ने गरेको छ ।
रङ्गमञ्च÷थियटरको विकासका लागि प्रदेश सरकारले सकेसम्म रङ्गमञ्च/थियटर सम्बन्धी कानुन बनाउनु बाञ्छनीय हुन्छ । यसले नियमन र निरीक्षणलाई सबल बनाउँछ र नीतिगत योजनाहरु तयार गर्नका लागि आधारभूमि प्रदान गर्दछ । रङ्गमञ्च÷थियटरको साँच्चै विकास गर्ने हो भने यसको भौतिकपक्ष थियटर हलको निर्माण गरिनु अति जरुरी हुन्छ । जसरी कुनै पनि परिवारलाई घामपानीबाट बच्न र भावनात्मक एकता कायम गर्न घरको आवश्यक्ता पर्दछ, त्यसरी नै रङ्गमञ्च÷थियटर परिवारलाई काम गर्न र कामको निरन्तरतालाई भावनात्मक रुपमा कायम राख्न घर अर्थात् नाटकघर, थियटर हलको आवश्यकता पर्दछ । नाटकघर÷थियटर हलको अभावकै कारण नेपालमा रङ्गमञ्च÷थियटरको विकास हुन नसकेको हो ।
सर्वप्रथम, प्रदेश सरकारले नाटकघर/थियटर हल निर्माण गर्ने नीतिगत योजना बनाउनु पर्दछ । यसका लागि सर्वप्रथम आफूअन्तर्गत रहने गरी प्रदेश सरकारले प्रदेश १ स्तरीय एउटा नाटकघर/थियटर हल बनाउनु जरुरी छ । त्यसपछि, प्रत्येक नगरपालिकामा ‘एक नपा : एक थियटर हल’ को नाराका साथ यो कामलाई अभियानकै रुपमा अगाडि बढाउनु सकिन्छ । यसरी बनाइने नाटकघर/थियटर हललाई कलाका सबै विधाहरु, जस्तोः चित्रकला, र्मूिर्तकला, नृत्यलाई समेट्ने गरी सभागृहको रुपमा साहित्य, सङ्गीत, संस्कृतिजन्य अन्य कार्यक्रमहरुसमेत सम्पन्न गर्न सकिने बहुउपयोगी भवनको रुप दिन सकिन्छ । यस्तो नाटकघर/थियटर हल बनाउनु प्रदेश सरकारले नगरपालिकाहरुसँग आर्थिकरुपमा सहकार्य गर्नु पर्दछ । बहुपयोगी नाटकघर/थियटर हल बनाउन आर्थिक रुपले कुनै कठिनाई पनि हुँदैन किनकि प्रत्येक नगरपालिकालाई सुविधासम्पन्न आधुनिक सभागृहको आवश्यक्ता पर्छ नै, त्यही बजेटमा थोरै बढोत्तरी गरेमा नाटकघर/थियटर हलका लागि आवश्यक संरचना, प्रकाश तथा ध्वनिव्यवस्था पनि सहजै गर्न सकिन्छ ।
प्रदेश र नगरपालिका स्तरमा बनाइने नाटकघर/थियटर हल नियमितरुपमा संचालन गर्न प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान गठन गरी हाललाई आर्थिक भार कम गर्नका लागि त्यसैअन्तर्गत नाट्य तथा सङ्गीत विभाग गठन गर्दा हुन्छ । त्यसमार्फत् प्रदेशभरि कार्यरत नाट्य संस्थाहरुसँगको सहकार्यमा सार्थक नाट्य प्रस्तुतीहरु गर्ने गराउनु पर्दछ । र, साथै रङ्गमञ्चीय गतिविधिलाई गतिशीलता दिन वार्षिक वा अर्धवार्षिक रुपमा नाटक महोत्सव आयोजना गर्नु पर्दछ । थप रङ्गमञ्चीय विकासका लागि प्रदेश प्रज्ञा प्रतिष्ठानअन्तर्गत गठन गरिने नाट्य तथा सङ्गीत विभागअन्तर्गत रहने गरी प्रदेश सरकारले रङ्गमञ्चका विविध पक्षहरु अभिनय, निर्देशन तथा प्राविधिक सीपहरु सिकाउने एउटा प्रादेशिक नाट्य विद्यालय (State School of Drama) स्थापना गर्नु पर्दछ । त्यसका लागि विज्ञहरुको टोलीबाट पाठ्यक्रम (Course of study) बनाइनु पर्दछ ।
रङ्गमञ्च/थियटर क्षेत्रमा आएको पछिल्लो विकासक्रम तथा सिद्धान्तअनुसार नाटकलाई शिक्षाको सशक्त माध्यमको रुपमा प्रयोग गर्न थालिएको छ । विश्वव्यापीरुपमा घनीभूत हुँदै गएको यो सिद्धान्तअनुसार स्कुल र कलेजबाटै अभिनय र थियटरको विकास गर्दै विद्यार्थी बालबालिका तथा युवाहरुको रचनात्मक धारणामा विकास, समाजका बहुविध जीवनहरुको अध्ययन, विविध समस्याहरुको समाधानमा सहभागिता, उनीहरुभित्र अन्तर्निहित प्रतिभा प्रस्फुटनका साथै शिक्षण कार्यलाई बढी प्रभावकारी बनाइने हुँदा यसलाई कानुनी रुपमै अनिवार्य बनाउनु आवश्यक देखिन्छ । अक्षर (Text) भन्दा दृश्य (Vusual) ले सयौँ गुणा बढी स्मरणशक्ति बढाउने कुरा आज विज्ञानले प्रमाणित गरिसकेको तथ्य हो । सानो व्यावहारिक उदाहरणबाट पनि हामी यो कुरा सहजै बुझ्न सक्छौँ, जस्तो कि ३० वर्ष अगाडि हेरेको शोले फिल्मको डायलग र सीनहरु हामीलाई आजसम्म कण्ठस्थ याद छ, तर परीक्षाका लागि रातरातभरि घोकेर याद गरेका डिप्लोमा स्तरीय किताबहरुका अक्षरहरु हामीलाई याद छैन, किनकि ती अक्षरहरु परीक्षासम्मका लागिमात्र स्मरणयोग्य हुन्छन् ।
यसर्थ, प्रदेशस्तरमा नाटक र रङ्गमञ्चको विकास गर्नका लागि प्रदेश सरकारले आफ्नो अधिकारक्षेत्रभित्र रहेको शिक्षासम्बन्धी अधिकार प्रयोग गर्दै प्रदेशस्तरीय शिक्षानीतिमा प्लस टु तथा कलेजहरुको अतिरिक्त क्रियाकलापमा नाटकलाई मञ्चनीय रुपमा ‘अनिवार्य विषय वा क्रियाकलाप’ घोषणा गरिनु पर्दछ । यसो गर्दा पाठ्यपुस्तकमा भएका नेपाली र अंग्रेजी नाटकहरुलाई मञ्चन गरेर विद्यार्थीहरुलाई प्रभावकारी रुपमा बुझाउन सकिन्छ । यसबाट स्कुल र कलेजबाटै रङ्गमञ्चप्रति आकर्षण बढ्ने र प्रतिभा प्रष्टफुटन हुने वातावरण पनि सिर्जना हुनेछ । प्रत्येक स्कुलले नाटक शिक्षक नियुक्ति गरी नाटय वा थियटर कर्मलाई निरन्तरता दिनुपर्ने व्यवस्था गर्न पर्दछ । यसो गर्दा नाट्य कलाकारहरुले रोजगार पनि पाउने अवसर सिर्जना हुन्छ । यो कार्यलाई बढावा दिन खास राष्ट्रिय दिवस वा विश्व रंगमञ्च दिवसको अवसरमा अन्तरविद्यालय र कलेजस्तरीय नाटक प्रतियोगिताहरु आयोजना गर्ने परम्पराको शुरुवात गर्न सकिन्छ । यस्तो प्रतियोगिताअन्तर्गत माइम (मूक नाटक), एकल नाटक र प्रेक्षिका (१५ मिनेट अवधिको लघुनाटिका) समावेश गर्न सकिन्छ ।
सम्पर्क : ९८४२०३९४५१
ईमेल : semmangbis@gmail.com






प्रतिकृया दिनुहोस